दुगुनागढी माउन्टेन ट्रेल रेसको उपाधि कास राईले जिते

सिन्धुपाल्चोक: पाँचौं लिस्तीकोट दुगुनागढी माउन्टेन ट्रेल रेस – २०८१ को उपाधि त्रिभुवन आर्मी क्लबका कास राईले जितेका छन्। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-३ स्थित तातोपानी सुख्खा बन्दरगाहबाट लिस्तीकोट हुँदै दुगुनागढीसम्मको २४.५ किलोमिटरको दूरी २ घण्टा ८ मिनेट ४१ सेकेण्डमा पार गर्दै राई विजयी बने।

उनी २ सय २४ प्रतिस्पर्धी धावकलाई पछि पार्दै पहिलो भए र १ लाख १० हजार रुपैयाँ नगद, शील्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे। दोस्रो स्थान त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठले २ घण्टा १० मिनेट ३८ सेकेण्डमा दूरी पार गरी प्राप्त गरे, जबकि तेस्रो स्थान करण राउतले २ घण्टा १३ मिनेट १६ सेकेण्डमा सो दूरी पार गरेर हासिल गरे। उनीहरूले क्रमशः ७५ हजार र ५० हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्राप्त गरे।

महिला प्रतिस्पर्धामा त्रिभुवन आर्मी क्लबकी सुनसरी रोकायले २ घण्टा ४८ मिनेटमा दूरी पार गरेर प्रथम स्थान प्राप्त गरिन्। जुम्लाकी कल्पना बुढाले २ घण्टा ५१ मिनेटमा दोस्रो स्थान र खोटाङकी प्रिती राईले २ घण्टा ५५ मिनेटमा तेस्रो स्थान हासिल गरिन्। विजेताहरूलाई क्रमशः ७० हजार, ५० हजार र ३० हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

भोटेकोशी गाउँपालिकास्तरीय प्रतिस्पर्धामा कुमार तामाङले ३ घण्टा १२ मिनेटमा प्रथम, मोहन भण्डारीले ३ घण्टा २५ मिनेटमा द्वितीय र फुर्वा तामाङले ४ घण्टा २ मिनेटमा तृतीय स्थान प्राप्त गरे। उनीहरूलाई क्रमशः ३० हजार, २० हजार र १५ हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र दिइयो।

प्रतियोगितामा सहभागी प्रत्येक धावकको लागि निःशुल्क दुर्घटना बीमा पनि प्रदान गरिएको थियो।

विजेताहरूलाई नेपाली सेनाका उपत्यका पृतनापति विष्णु राउत, सहायक रथी अशोक गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ, भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नुर्पु शेर्पा, प्रमुख जिल्ला अधिकारी किरण थापा, इन्द्रध्वज गणका गणपति धर्मेन्द्र भण्डारी लगायतले पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए।

नेपाली सेनाले दुगुनागढी माउन्टेन ट्रेल रेसको आयोजनाबाट सिन्धुपाल्चोकका ऐतिहासिक स्थलहरूको पहिचान, साहसिक खेलको विकास र सैनिक–नागरिक सम्बन्धलाई प्रगाढ बनाउन उद्देश्य राखेको इन्द्रध्वज गणका सेनानी अनिलकुमार बस्नेतले बताए। “सन् १८५५ मा नेपाल तिब्बत युद्धको समयमा दुगुनागढी किल्लाबाट विजय हासिल गरेको कारण यसलाई ऐतिहासिक स्थलका रूपमा संरक्षण र सम्वर्द्धन गर्न यो रेस आयोजना गर्दै आएका छौं,” उनले भने।

तपाईको प्रतिक्रिया