शहरलाई सुधारौं

बढ्दो शहरीकरणसँगै यसको ब्यवस्थापनबारे उचित नीति, नियम र कार्यान्वयनको आवश्यक्ता छ । देशैभर गाउँहरु श्हरमा बदलिदै छन् । महानगर, उपमहानगर र नगरपालिकाहरुको संख्याले हाम्रो वढ्दो शहरीकरणको चित्र देखाउछ । तर के हामी बसिरहेको शहर साच्चिकै शहर भन्न लायक छन्..? यि शहरले, शहर बन्नका लागि न्यूनतम् मापदण्ड पुरा गरेका छन् ? ईमेज च्यानलको कार्यक्रम टक अफ द टाउनमा यि प्रश्नहरुको जवाफ खोज्नेक्रममा जगदीश खरेलसँग शहरी विकास मन्त्रालयका पूर्व सचिव किशोर थापाले ब्यवस्थापनको अभाव नै नेपालका शहरहरुको मुख्य समस्या भएको वताउनु भयो । “सबैभन्दा ठूलो समस्या नै अब्यवस्था हो, कुन निकायले के गर्ने भन्नेमा उचित समन्वयको अभाव छ, शहरमा अब्यवस्था र भिडभाड हुनसक्छ, तर त्यसलाई ब्यवस्थिति गर्न सक्नुपर्छ, जुन कुरामा हामी चुकेका छौं ”उहाँले भन्नुभयो । हाम्रा शहरहरुलाई ब्यवस्थापन गर्न सकिने संभावनबारे सोधिएको प्रश्नमा थापाले शहरका लागि बलिया संरचना, फराकिलो ठाउँ, सरसफाइयुक्त हरियाली, विपद् जोखिमबाट बच्न सक्ने आधारसहितका भवन र सोही अनुसारको तयारी गर्नुपर्नेमा जोड दिनुभयो । तर, “हाम्रा योजनाहरु यति धेरै अब्यवस्थिति र अब्यवहारिक भइदिए कि जोखिम थपिदै गयो ” उहाँले भन्नुभयो । ब्यवस्थित शहरी विकासका लागि पटक पटक योजनाहरु बने पनि कार्यान्वयनको पक्ष फितलो देखिएको भन्दै थापाले योजना बनाउने तर प्रभावकारी कार्यान्वयन नगर्ने अवस्था कायमै रहे जोखिम थपिदै जाने टिप्पणी गर्नुभयो । नेपाल बहुप्रकोपिय विपद्को जोखिममा छ भन्ने विषयलाई आत्मसात् गर्दै हाम्रा शहरी विकासका योजना बन्नु र कार्यान्वयन गर्नु आवश्यक रहेको पूर्व सचिव थापाको भनाई छ ।

कार्यक्रममा सहभागी शहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीलाई हामीले हाम्रा शहरहरु किन यति धेरै अब्यवस्थित छन् ? र यसमा मन्त्रालय के गर्दैछ भनेर सोधेका थियौ । जवाफमा सचिव अधिकारीले ब्यवस्थित शहरीकरण नै मन्त्रालयको प्राथमिक विषय भएको वताउनुभयो । शहरी विकासको रणनीति, गुरुयोजना बनेको भन्दै उहाँले ऐन पारित भएसँगै शहरी विकासको स्पष्ट खाका कोरिने समेत वताउनुभयो । सम्बद्ध मन्त्रालय र अन्य निकायहरुबीच अझै पनि उचित समन्वयको अभाव रहेको भन्दै उहाँले मुलुक संघीयतामा गइसकेको अवस्थामा अब स्थानीय तहहरु पनि शहरी विकासका लागि उचित योजनाकासाथ काममा जुट्नुपर्ने उहाँको भनाई छ । २०२८ सालयता पटक पटक पटक शरी विकास योजनाहरु बनेपनि हाम्रो विडम्बना काठमाण्डौ उपत्यका नै प्रत्येक वर्ष जस्तो डुवानमा पर्ने गर्छ । यो वर्ष त वर्षामा ललितपुर र काठमाण्डौमा मानिसले ज्यान गुमाउने स्थिति बन्यो । काठमाण्डौका सुगम भनिएका ठाउँमा समेत मानिस डुवाउने गरी पानी जमेपछि डुंगा नै चलाउनु परेका दृष्यहरु छरपष्ट भए । मानवीय अतिक्रमणका कारण नदी र खोलाले आफ्नो स्वभाविक आकार गुमाइसकेका छन् । काठमाण्डौ उपत्यका र आसपासका अधिकांश नदी किनारले चर्चेको क्षेत्र साँघुरिदै गएको छ । सडक विस्तारका आयोजनाहरुले गति लिन सकेका छैन । करिडोर निर्माणमा सुस्तता छ । अव्यवस्थित बस्ती विकास, जोखिमको आँकलन विनाका योजना र कमजोर संरचनाले शहर साच्चिकै शहर बन्न सकेका छैनन ।
एकातिर नदीले विगतमा ओगटेको क्षेत्र साँघुरिदै छ भने अर्कोतिर पानी निकासका लागि ढल तथा नालाहरूको उचित प्रवन्ध हुनसकेको छैन । ढल र नालाहरुको उचित प्रवन्ध नहुदा मध्यमस्तरको वर्षा हुँदा समेत काठमाण्डौ अस्त ब्यस्त बन्ने गरेको छ । अर्कोतिर खुला ठाउँको अभाव छ । अनि जस्तो सुकै ठाउँमा पनि घर बनाउने हाम्रो प्रवृतिले जोखिमलाई आमन्त्रण गरिहेको छ । विषय काठमाण्डौको मात्र होइन देशका अधिकांश शहरहरु जोखिममा छन् । कतिपय ठाउँमा त भवन संहिताको कार्यान्वयनमा समेत कडाई गरिएको छैन । जसले जोखिमलाई आमन्त्रण गरिरहेका छन् । यसतर्फ सचेत बन्ने कि !

तपाईको प्रतिक्रिया