विपद् ब्यवस्थापन प्राधिकरणमा नेतृत्वको बहस

विपद् जोखिम न्युनीकरण तथा ब्यवस्थापन राष्ट्रिय प्राधिकरणको नेतृत्वलाई लिएर बहस जारी छ । प्राधिकरण गठनको प्रक्रिया अघि बढेसँगै ईमेज च्यानलको कार्यक्रम टक अफ दि टाउनमा कस्तो ब्यक्तिले प्राधिकरणको नेतृत्व सम्हाल्न सक्छ भन्नेबारे बहस चलाइएको छ । जगदीश खरेलले चलाएको बहसमा राष्ट्रिय पुनर्निमाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र प्राधिरणकै पूर्व कार्यकारी प्रमुख युवराज भुसाल सहभागी हुनुहुन्थ्यो । सरकारले प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत सिइओ नियुक्तिका लागि सिफारिस गर्न गृह मन्त्रालयका सचिव प्रेम कुमार राई संयोजक रहेको समिति बनाइसकेको छ ।


यस्तो स्थितिमा राष्ट्रिय पुनर्निमाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सबै मन्त्रालयबीच उचित समन्वय गर्न सक्ने , राजनीतिक नेतृत्वलाई सहमतिम लिन सक्ने, दृढ इच्छाशक्ति भएको र विपद् जोखिम न्यूनिकरण र ब्यवस्थापनलाई राम्रोसँग बुझेको ब्यक्तित्वलाई विपद् जोखिम न्युनीकरण तथा ब्यवस्थापन प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत बनाउनुपर्ने वताउनु भयो । प्राधिकरणको नेतृत्व आफैमा चुनौतिपूर्ण विषय भएको भन्दै उहाँले टिम भावनाकासाथ काम गर्ने ब्यक्तिलाई प्रमुख कार्यकारी अधिकृत बनाउनुपर्नेमा जोड दिनुभयो । कुनै ब्यक्तिको अनुहार हेरेर उसको क्षमताको परीक्षण हुन नसक्ने भन्दै ज्ञवालीले विपद् जोखिम न्युनीकरण र ब्यवस्थापनमा सम्पूर्ण रुपले काम गर्न सक्ने ब्यक्ति नै नेतृत्वमा आउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा राष्टिय पुनर्निमाण प्राधिकरणका पूर्व प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले निष्पक्ष रुपमा सक्षम ब्यक्ति प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत बन्ने विश्वास ब्यक्त गर्नुभयो । समितिका संयोजक गृह सचिव राई आफैमा सक्षम ब्यक्ति भएको र यसमा राजनीतिक दबाबले समेत काम नगर्ने भन्दै उहाँले विपद्को सबै क्षेत्रमा काम गर्न सक्ने ब्यक्ति नेतृत्वमा आउनुपर्ने वताउनुभयो । कसैको छायाँ हेरेर हुँदैन पुरै स्वरुप हेर्नुपर्छ भन्दै उहाँले उचित समन्वय नै प्राधिकरणको कार्यकारी अधिकृतसँग हुनुपर्ने क्षमता भएको वताउनुभयो । पहिलो पटक विपद् जोखिम न्युनिकरण र ब्यवस्थापनको काम गर्ने गरी प्राधिकरण बनाउन लागिएको भन्दै उहाँले सेवा सुविधा नभई स्वयंसेवकको रुपमा काम गर्छु र केही परिणाम निकाल्छु भन्ने ब्यक्तिलाई प्राधिकरणको सिइओ बनाउनुपर्ने धारणा राख्नुभयो । कतिपय अवस्थामा योग्य ब्यक्तिहरु सरकार आफैले खोजी गर्नुपर्ने भन्दै भुसालले अवसरलाई छोप्न सक्ने ब्यक्ति नै नेतृत्वमा आउनुपर्ने वताउनुभयो ।

तपाईको प्रतिक्रिया