मालपोतका सुब्बा: अवैध आम्दानी १४ करोड

अकुत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिमरास्थित मालपोत कार्यालयमा कार्यरत नायव सुब्बा मदनप्रसाद गुप्तासहित नौ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। गुप्ताले २०४७ असार २७ गतेदेखि ०७५।०७६ सम्मको अवधिमा वैधानिकरूपमा कमाएको भन्दा बढी स्रोत नखुलेको सम्पत्ति थुपारेको आरोपमा उनीविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

अख्तियारका अनुसार २०४७ सालमा जागिर सुरू गरेका गुप्ता २०६४ सालमा नायब सुब्बा भएका थिए।

अख्तियारले अनुसन्धानका क्रममा २०७६ सालसम्ममा अस्वाभाविक आय आर्जन गरेको देखिएको जनाएको छ।

आयोगका अनुसार गुप्ताको वैध आय ४ करोड ५४ लाख ७२ हजार २ सय ४६ रुपैयाँ रहेको छ । तर आयोगले गरेको अनुसन्धानमा गुप्ताको स्रोत नखुलेको सम्पत्ति १४ करोड ८१ लाख ८९ हजार २३ रुपैयाँ रहेको पाइएको छ । आयोगको अनुसन्धानअनुसार गुप्ताको कूल सम्पत्ति १९ करोड ३६ लाख ६१ हजार १ सय ६९ रुपैयाँ रहेको छ ।

गुप्ताकी श्रीमती रिता देवी, छोराहरु विक्की गुप्ता र रक्की गुप्ता, अवैध सम्पत्ति लुकाउन सहयोग पु¥याउने निरजकुमार गुप्ता, कविता कुमारी, जुगुली प्रसाद र जगतनारायण यादव विरुद्धसमेत आयोगले मुद्दा दायर गरेको छ । पदीय दुरुपयोग गरेर गुप्ताले घर, जग्गा, सवारी साधन, व्यवसाय गायतमा लगानी गरेको पाइएको आयोगले जनाएको छ ।

गुप्ताले पदीय दुरुपयोग गरी गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी अस्वाभाविक उच्च जीवन यापन गरिरहेकोले कारबाही गरी पाउँ भनी आयोगमा उजुरी परेपछि उनीविरुद्ध अनुसन्धान अघि बढाएको आयोगले जनाएको छ ।

अनुसन्धानको क्रममा संकलित तथ्य प्रमाणहरूबाट गुप्ताले आफू तथा आफ्नो परिवारका सदस्यलगायतको नाममा दर्ता कायम रहने गरी घर, जग्गा, सवारीसाधन, व्यवसायमा खर्च लगानी गरेको पाइएको अख्तियारले जनाएको छ।

तपाईको प्रतिक्रिया