बाढीले बगर बनेका खेतलाई रोपनीको दुई हजार क्षतिपूर्ति

दमौली : बाढी र पहिरोका कारण बगरमा परिणत भएका खेतलाई तनहुँको बन्दीपुर गाउँपालिकाले क्षतिपूर्ति दिने निर्णय गरेको छ। बिहीबार बसेको गाउँ कार्यपालिकाको बैठकले प्रति रोपनी दुई हजारका दरले क्षतिपूर्ति दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले बताए। 

‘खेती लगाएका र बगरमा परिणत भएका धेरै ठाउँबाट गुनासो आएकाले गाउँपालिकाबाट राहत दिने निर्णय भएको हो,’ उनले भने। गाउँपालिकाभर हालै मात्र रोपाईं भएका धेरै खेतमा बाढी पसेको तथा पहिरो खसेको गुनासो आएको अध्यक्ष थापाले बताए। ‘धेरै किसान मर्कामा परेका छन्’, उनले भने,‘उनीहरुलाई सानो भए पनि राहत दिने प्रयास गरेका छौं।’ धेरैतिर क्षतिको खबर आए पनि सञ्चार सम्पर्कविच्छेद भएका कारण कति क्षति भयो यकिन विवरण भने आइनसकेको गाउँपालिकाले जनाएको छ। ‘पहिरोका कारण ठाउँ ठाउँमा विद्युत लाइन गएकाले सञ्चार सम्पर्क हुन सकेको छैन’, अध्यक्ष थापाले भने, ‘हामी केही दिनमा विवरण संकलन गरेर सार्वजनिक गर्दैछौं।’

गाउँपालिकामा पहिरोमा परी २२ घरमा पूर्ण क्षति भएको छ। आंशिक क्षति हुने घरहरुको विवरण संकलन भइरहेको अधिकारीहरुको भनाइ छ। गाउँपालिकाले पूर्ण रुपमा भत्केका घरका लागि ३० हजार र आंशिक भत्केकालाई १० हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ। यसै गरी ज्यान गुमाएमा त्यस्ता व्यक्तिका परिवारलाई ३० हजार रुपैयाँ राहत दिने निर्णय गरिएको अध्यक्ष थापाले बताए। 

तीन दिनदेखि विद्युत नआउँदा कार्यालय बन्द

गाउँपालिकाको केन्द्र बन्दीपुर बजारसहित अधिकांश ग्रामीण क्षेत्रमा पहिरोले विद्युत लाइनमा क्षति पुर्‍याएकाले तीन दिनयता विद्युत अभावमा धेरै कार्यालय नै बन्द हुने अवस्थामा पुगेका छन्। बैंक तथा विद्युत आवश्यक पर्ने कार्यालय बन्द छन्। बन्दीपुरमा रहेका बैंकका एटिएमले पनि सेवा दिन नसक्ने अवस्था आएको छ। ‘बिजुली र इन्टरनेट दुवै छैनन’, ग्लोबल आइएइ बैंक बन्दीपुरका अपरेशन इञ्चार्ज अनुज पण्डितले भने,‘त्यसैले सबै सेवा बन्द छन्।’

ठाउँ ठाउँमा पहिरोले गाउँपालिका पुग्नै सकस

अविरल वर्षाका कारण ठाउँ ठाउँमा पहिरो गएका कारण बन्दीपुरसँगको सम्पर्क विच्छेद भएको छ। ‘४० भन्दा बढी ठाउँमा साना ठूला पहिरो गएका छन्,’ अध्यक्ष पूर्णसिं थापाले भने, ‘बाटोको पहिरो हटाए पनि आवतजावत नियमित बनाउन समय लाग्ने देखिन्छ।’ विद्युत सेवा पनि अवरुद्ध भएकाले समस्या परेको छ। नेपाल विद्युत प्राधिकरण डुम्रेका प्रमुख बेनी नेपालीले धेरै ठाउँमा अवरोध भएकाले मर्मतको काम भइरहेको बताए। ‘धेरैतिर अवरोध भएको छ,’ उनले भने,‘मर्मतको काम भइरहेको छ।’यो समाचार अन्नपूर्ण पोष्टले लेखेको छ ।

तपाईको प्रतिक्रिया