‘प्रेमको स्मारक’मा ट्रम्प दम्पति

अमेरिकी राष्ट्रपतिको रूपमा पहिलोपटक भारत भ्रमणमा आएका डोनल्ड ट्रम्प सोमवार अपरान्ह भारतको आगरास्थित प्रसिद्ध ताजमहल पुगेका छन्।

अहमदाबादमा ओर्लिएर पहिले सावरमती आश्रम घुमेका ट्रम्प लगत्तै आगरा पुगेका हुन्।

अहमदाबादमा ट्रम्पलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भव्य स्वागत गरेका थिए।

दुई नेताबीच मङ्गलवार कूटनीतिक वार्ता हुनेछ।

ट्रम्पले गरे मोदीको प्रशंसा

यसअघि राष्ट्रपति ट्रम्पले आफ्नो भव्य स्वागत गरिएकोमा भारतलाई धन्यवाद दिएका थिए।

गुजरातस्थित मोतेरा रङ्गशालामा एक लाखभन्दा धेरै मानिसहरू सहभागी भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारतलाई ‘संसारकै सबभन्दा गजबको देशमध्ये एक’ भने।

मोदी र ट्रम्प

साथै, उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निकै प्रशंसा गरे।

“उनलाई (मोदीलाई) सबैले मनपराउँछन्। तर म भन्न चाहन्छु उनी निकै कडा पनि छन्। तपाईँ गुजरातको गौरवमात्र हुनुहुन्न, तपाईँ त कठिन परिश्रम गरेमा भारतीयले जे चाहे पनि हासिल गर्न सक्छन् भन्ने कुराको जिउँदो प्रमाण हुनुहुन्छ,” ट्रम्पले भने।

“नमस्ते,” भन्दै उनले सुरु गरेको भाषण सुनेर दर्शकले ताली पिटेका थिए।

भारतीय शब्द उच्चारणमा भयो समस्या

आफ्नो भाषणमा ट्रम्पले भारतका क्रिकेट खेलाडीदेखि बलिवुड अनि इतिहासका प्रसङ्ग कोट्याए।

मोतेरा रङ्गशाला

तर कतिपय भारतीय शब्दको भने उनले सही उच्चारण गर्न सकेनन्।

अहमदाबाद शहरको नामदेखि स्वामी विवेकानन्द अनि वेदको उच्चारण उनले बिगारेका थिए।

पहिले मोदीले भाषण गरेपछि ट्रम्पले भाषण गरेका थिए।

मोदी र ट्रम्प

तर कतिपय मानिस उनको सम्बोधनको बीचमै बाहिरिन थालेको बीबीसीकी सम्वाददाता रजिनी वैद्यनाथनले बताइन्।

ट्रम्पको भारत भ्रमण मोदीको निम्ति भने उचित समयमा भएको छ।

यतिखेर सरकारका केही विवादास्पद निर्णयहरूका कारण मोदीको सरकारमा धेरैको ध्यान केन्द्रित भइरहेको छ।

डिसेम्बरमा भारतले एक विवादास्पद नागरिकतासम्बन्धी कानुन पारित गरेयता त्यहाँ ठूल्ठूला विरोध प्रदर्शन भइरहेका छन्।

आलोचकहरूले मोदी सरकारको निर्णयले भारतका बीस करोड मुसलमान समुदायलाई सीमान्तकृत गर्ने आरोप लगाएका छन्। सरकारले भने ती आरोप अस्वीकार गर्दै आएको छ।

Photo and news source BBC Nepali

तपाईको प्रतिक्रिया