प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको अपरेशन सम्पन्‍न

काठमाडौं : एपेन्डिसाइटिस भएपछि उपचारका लागि भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको अप्रेशन सकिएको छ। त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको अप्रेशन सम्पन्‍न भएको हो।  त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका डाक्टर रमेशसिंह भण्डारीको टोलीले प्रमको एपेन्डिसाइटिसको अप्रेशन गरेका हुन्। प्रधानमन्त्रीको मिर्गौलामा पनि समस्या भएकाले डा. दिव्या सिंहको टोलीले पनि अप्रेशन थिएटरमै रहेर निगरानी गरेको थियो। डा. भण्डारीको टोलीले नेपालमै पहिलो पटक त्रिवि शिक्षण अस्पतालमै कलेजेको सफल प्रत्यारोपण गरेको थियो।  प्रधानमन्त्रीको एपेन्डिसाइटिसको अप्रेशनका लागि त्रिवि शिक्षण अस्पतालबाट डाक्टर भण्डारीको नेतृत्वमा चिकित्सक मगाइएको थियो। अप्रेशन थालिएसँगै भास्कुलर सेन्टरमा पत्रकारहरुको प्रवेशलाई कडाइ गरिएको थियो। सोमबार रातभर पेट दुखेर पखाला लागेपछि प्रमलाई उपचारका लागि त्यहाँ भर्ना गरिएको थियो।  प्रधानमन्त्रीको उपचारमा संलग्न एकजना चिकित्सकले स्वास्थ्यमा समस्या आउन सक्ने सम्भावनालाई ध्यान दिँदै अप्रेशनअघि परामर्श गरिएको जानकारी दिएका थिए।  यसअघि प्रधानमन्त्रीको मिर्गौलाले काम गर्न छाडेपछि धापासीस्थित ग्राण्डी अस्पतालमा तीन पटक डायलाइसिस गरिसकिएको छ। तीन दिन अघि मात्रै प्रमको मिर्गौलाको तेस्रो डायलाइसिस गरिएको थियो।

तपाईको प्रतिक्रिया