प्रचण्ड सचिवालयको विज्ञप्ति : मन्त्री हेरफेर प्रधानमन्त्रीकाे विषय, नेकपा सचिवालय बैठक भोलि

काठमाडौं । मन्त्रिमण्डल पुनर्गठनकाे विषयलाई लिएर पूर्व माअ‌ाेवादी पक्षबाट दवाबमा परेपछि नेकपा अध्यक्ष पुष्पकमल दाहालकाे तर्फबाट खण्डन विज्ञप्ति अ‌ाएकाे छ । दाहालकाे निजी सचिवालयले निकालेकाे विज्ञप्तिमा भनिएकाे छ- मन्त्री फेरबदलकाे विषय प्रधानमन्त्रीकाे क्षेत्राधिकार हाे ।

पूर्व माअ‌ाेवादी पक्षका हटाइन लागेका मन्त्री र मन्त्रीका अ‌ाकांक्षीहरुबाट ठूलाे दवाब परेपछि दाहालकाे सचिवालयले विज्ञप्ति निकालेकाे बुझिन्छ ।

निजी सचिवालयले मंगलबार जारी गरेको विज्ञप्तिमा मन्त्रीहरु हेरफेरमा प्रचण्डलाई जोडिएको भन्दै आपत्ति जनाइएको छ । ‘हाम्रो पार्टी नेतृत्वमा रहेको वर्तमान सरकारमा सहभागी मन्त्रीहरूका विषयमा अध्यक्ष प्रचण्डलाई जोडेर विभिन्न सञ्चारमाध्यममा प्रसारित र प्रकाशित अनर्गल र भ्रामक समाचारको हाम्रो सचिवालय घोर भर्त्सना र खण्डन गर्दछ’- विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी मन्त्री फेरबदलको विषय प्रधानमन्त्री केपी शर्मा ओलीकै क्षेत्राधिकार भित्र पर्ने दोहोर्‍याइएकाे छ । विज्ञप्तिमा भनिएको छ – ‘मन्त्री फेरबदलको विषय प्रधानमन्त्री केपी शर्मा ओलीकै क्षेत्राधिकारको विषय रहेको कुरा अध्यक्ष प्रचण्डले बारम्बार जोड दिइरहनुभएको तथ्य सबैमा विदितै छ ।’ 

विज्ञप्तिमा  भ्रामक समाचारका दुश्प्रचारको भ्रममा नपर्न समेत आग्रह गरिएको छ । खबर सनराइज डटकमले लेखेको छ ।

बुधबार सचिवालय बैठक

अध्यक्षद्वयमा कुरा नमिलेपछि बुधबारका लागि फेरि सचिवालय बैठक बोलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले मन्त्रिपरिषद् पुनर्गठन, अध्यक्षको कार्यविभाजन, प्रधानमन्त्री ओलीको स्वास्थ्यलगायतका सबै विषयमा निर्णय गर्ने एक सचिवालय सदस्यले बताएको नागरिक खबरले लेखेको छ ।

तपाईको प्रतिक्रिया