पार्टी एकताको महत्व बुझ्‍न प्रचण्‍डकाे अपिल, नेकपाकाे अ‌ान्तरिक एकता सुद‌ृढ बनाउने अध्यक्ष अ‌ाेलीकाे घाेषणा

काठमाडाैं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेकपाको स्थापना दिवस तथा लेनिन जयन्तीका अवसरमा एक वक्तव्य जारी गर्दै पार्टीकाे आन्तरिक एकतालाई थप सुदृढ तुल्याइने घाेषणा गरेका छन् ।

यो दिवसले पार्टीको आन्तरिक एकतालाई थप सुदृढ तुल्याउन र विगत दुई वर्षदेखि जारी एकता प्रक्रियालाई अन्तिम निष्कर्षमा पुर्‍याउन प्रेरणा दिने विश्वास व्यक्त गर्दै अध्यक्ष अ‌ाेलीले बितेका यी वर्षमा नेकपाले निरन्तर रुपमा जनतालाई जागृत र सङ्गठित गर्दै आएको तथा अनेकन् आरोहअवरोह र हण्डर–ठक्करको सामना गर्दै सङ्घर्षको नेतृत्व गरिरहेको स्मरण गरेका हुन् ।

अप्रिल २२ (वैशाख १० गते), ७१ वर्ष पहिले आजकै दिन नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । आजकै दिन विश्वमा परिवर्तनको नेतृत्व गर्ने ऐतिहासिक व्यक्तित्व भ्लादिमिर इल्यिच लेनिनको जन्म भएको थियो ।

नेपालमा २००६ साल वैशाख १० गते पुष्पलालको नेतृत्वमा नेकपाको स्थापना भएको थियो भने वर्तमान सत्ताारुढ नेकपाको गत २०७५ जेठ ३ गते एकता भएको थियो ।

“सात दशकको अवधीमा लेनिनले स्थापना गरेको सोभियत संघ विघटन भयो तर लेनिनवादी सिद्धान्तको आलोकमा हुर्किएको हाम्रो नेकपा स्थापनाको सात दशकभित्रै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरी शासनको सर्वोच्च स्थानमा नेपाली जनताको अधिकार स्थापित र संस्थागत गर्ने ऐतिहासिक दायित्वको नेतृत्व गर्ने तहमा पुग्यो” अध्यक्ष ओलीकाे विज्ञप्तिमा लेखिएकाे छ, “पार्टीमा हुर्किएको गुटबन्दी, विभाजन र अराजकतामाथि बिराम लगाउँदै एकता, पुनःर्गठन र सुदृढ एकताको महान अभियानलाइ अघि बढायो । सिद्धान्तको अन्धानुकरण र यान्त्रिक प्रयोगको सट्टा सिर्जनात्मक प्रयोग मार्फत मौलिक एवम् सही विचारको विकास र अवलम्बन गर्दै सामन्ती, प्रतिगामी, निरङ्कुश र जनविरोधी शक्तिसँग जुधेर नै नेपाली कम्युनिष्ट आन्दोलनले आजको उचाइ हासिल गरेको हो ।”

कम्युनिष्ट पार्टीले लोकप्रिय मतमार्फत दुई तिहाईभन्दा बढी स्थानमा विजय हासिल गरी मुलुकको प्रमुख र निर्णायक शक्तिका हैसियतमा शासन संचालनको नेतृत्व गर्ने भूमिका पाउनु असाधारण उपलब्धि भएको उल्लेख गर्दै अध्यक्ष अ‌ाेलीले पार्टी स्थापनाको यस अवसरमा संस्थापक सदस्यका साथै अग्रणी विचारकप्रति उच्च सम्मान व्यक्त गरेका छन् । सात दशक लामो आन्दोलनका क्रममा आफ्नो जीवन उत्सर्ग गर्ने शहीदहरु, निष्ठापूर्वक निरन्तर समर्पित साथीहरु र हसिंया हथौडाअंकित झण्डामुनि गोलबन्द भई संगठित रुपमा योगदान गर्ने न्यायप्रेमी जनसमुदायको उच्च सम्मान गर्दै नेकपामाथि भरोसा गर्दै विश्वास तथा साथ–सहयोग गर्नुहुने सम्पूर्ण नेपाली जनताप्रति हार्दिक कृतज्ञता समेत अध्यक्ष अ‌ाेलीले जाहेर गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले पार्टी एकताको महत्व बुझन र एकतालाई सृदृढ पार्न अपिल गरेका छन् । 

पार्टी स्थापना दिवसको अवसरमा बुधबार विज्ञप्ति निकालेर अध्यक्ष प्रचण्‍डले समाजवादी क्रान्तिको तयारीका लागि गरिएको ऐतिहासिक पार्टी एकताले लक्ष्यप्रति समर्पित हुन थप प्रेरणा र उर्जा दिएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन् – ‘यस ऐतिहासिक अवसरमा पार्टी एकताको महत्वलाई बुझ्न र पार्टीलाई अझ सुदृढ गर्न आ–आफ्नो ठाउँमा सकारात्मक पहल गर्न म नेकपाका सम्पूर्ण नेता–कार्यकर्तालाई अपिल गर्छु ।’

तर, पार्टी एकतापछि देशी विदेशी प्रतिक्रियावादी शक्ति नेकपालाई कमजोर पार्ने प्रयत्नमा निरन्तर लागिरहेका प्रचण्डको भनाइ छ । प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्नु, जनमत र जनभावनाको सम्मान गर्दै समाजवादका आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार रहेको प्रचण्डले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

पार्टीभित्र खुला र जनवादी छलफल गरी तथ्यद्वारा सत्यको अन्वेषण गर्ने विधिमार्फत् पार्टी एकतालाई थप सुदृढ बनाउन सकिको प्रचण्डको सुझाव छ । यसका लागि सकरात्मक र रचनात्मक योगदानका गर्न नेता–कार्यकर्तालाई प्रचण्डले अपिल गरेका छन् ।

दिवसका अवसरमा सशस्त्र र शान्तिपूर्ण आन्दोलनका सहिद सम्झँदै प्रचण्डले बेपत्ता र घाइतेप्रति सम्मान व्यक्त गरेका छन् । सम्पूर्ण सर्वहारा/श्रमजीवी वर्ग र आम जनलाई प्रचण्डले शुभकामना पनि दिएका छन् ।

कोरोनाविरुद्ध सरकारका प्रयासमा सहकार्य गरी विज्ञहरुले सुझाएका सुरक्षाका उपाय अपनाउन समेत उनले आग्रह गरेका छन् । प्रचण्डले लेखेका छन् – ‘कोभिड–१९ विरुद्ध एकतावद्व संघर्षमा होमिन नेकपाका सम्पूर्ण नेता–कार्यकर्ता, शुभेच्छुक र आम जनसमुदायमा हार्दिक अपिल गर्छु ।

तपाईको प्रतिक्रिया