नेकपामा शक्ति संघर्ष : ओलीबाट प्रधानमन्त्री फुत्काउने प्रचण्डको प्रयास, कुनै हालतमा नछोड्ने ओलीको अडान

नेकपामा शत्तिः सघंर्षमा आइसब्रेक भएको छ । तर, आज ११ बजे बस्ने स्थायी कमिटी बैठकले त्यसको पुष्टि गर्नेछ कि शक्ति संंघर्ष मत्थर भएको हो कि होइन भन्ने । केपी ओली र प्रचण्डबीचका लगातारका वार्ता सहमतिमा नपुग्नुको कारण हो–प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाड्न ओली तयार छैनन् । प्रचण्ड पनि ओलीलाई पूरै कार्यकाल प्रधानमन्त्री स्वीकार गर्ने पूर्वसहमतिप्रति पश्चाताप गर्दै बाँकी कार्यकाल आफू प्रधानमन्त्री हुने अन्तिम कसरतमा छन् ।

स्थायी कमिटी बैठकमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनालसहित माधव पक्षधर अधिकांश स्थायी कमिटी सदस्यहरूले ओलीबाट पार्टी र सरकार दुवै नचल्ने भन्दै दुवै पदबाट राजीनामा मागेका थिए । वार्तामा बस्दा भने प्रचण्डले प्रधानमन्त्री छाड्दा ओलीलाई पार्टी अध्यक्षमा कायमै राख्ने बताएका छन् ।

केपी ओली दुवै पद छाड्न तयार छैनन् र छाड्नुपरे वा हटाउन खोजिए पार्टी फुटाउने चेतावनी दिइरहेका छन् । उनी प्रचण्डसँग मंसिर ४ को सहमतिमा फर्किन आग्रह गरिरहेका छन् । त्यो भनेको प्रचण्डले कार्यकारी अध्यक्षका हिसाबले पार्टी चलाउने र ओलीले पूरै कार्यकाल प्रधानमन्त्री चलाउने ।

त्यसका लागि बरु कुनै लिखित सम्झौता वा कार्यकारी अध्यक्षको परिभाषित जिम्मेवारी तथा सरकार सञ्चालनमा प्रचण्डको पनि भूमिकाका सन्दर्भमा समझदारी गर्न सकिने उनको बटमलाइन छ ।

पार्टी एकता आफूहरू दुईजना भएर गरेकाले दुई अध्यक्षको समझदारीबाहेक अरू विधिमा नजाने अडानमा ओली देखिएका छन् । प्रचण्डले भन्ने गरेको जेठ २ को समझदारी मंसिर ४ मा टुङ्गिसकेकाले आलोपालो प्रधानमन्त्रीको ‘च्याप्टर क्लोज’भइसकेको ओली पक्षधर नेताहरू बताउँछन् ।

२०७५ जेठ २ गते पार्टी एकीकरणका सन्दर्भमा ओली र प्रचण्डबीच भएको गोप्य कागजमा दुवै अध्यक्षले आलोपालो प्रधानमन्त्री चलाउने भन्ने थियो । प्रचण्डले स्थायी कमिटी बैठकको सुरुकै दिन केपी ओलीविरुद्ध बगावत गर्दै गत मंसिर ४ गते आलोपालो प्रधानमन्त्री चलाउने जेठ २ को सम्झौता छाडेर आफूले भूल गरेको भन्दै पश्चाताप व्यक्त गरेका थिए । त्यही दिनबाटै प्रष्ट भइसकेको छ कि ओलीलाई हटाएर प्रचण्ड प्रधानमन्त्री बन्न चाहन्छन् ।

तपाईको प्रतिक्रिया