देउवाले बनाए १३ विभाग, अब पेलेरै जाने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र पेलेरै जाने रणनीति लागू गरेका छन् । उनले विपक्षी समूहको असहमति हुँदाहुँदै आज पार्टीका १३ वटा विभागका प्रमुख घोषणा गरेका छन् । 

उनले विपक्षी रामचन्द्र खेमासँगको सहमति नलिई विभाग घोषणा गरेका हुन् । उनले प्रवक्ता विश्वप्रकाश शर्मालाई प्रचार विभाग दिएका छन् । 

त्यसैगरी क्रियाशील सदस्यता वितरणमा निर्णायक मानिने संगठन विभागका प्रमुख आफ्नो खेमाका गोपालमान श्रेष्ठलाई बनाएका छन् । उनी विगतमा देउवाले कांग्रेस फुटाएर बनाएको नेपाली कांग्रेस प्रजातान्त्रिकका उपसभापति थिए । 

त्यसैगरी देउवाले विगतमा खुमबहादुर खड्काको निकट रहेका शंकर भण्डारीलाई तरुण विभाग दिएका छन् । 

कांग्रेसको मूलधारबाट बाहिर पारिएका गोविन्द भट्टराई नेपाली जनसम्पर्क समन्वय विभागको प्रमुख बनाइएको छ । यो विभागले विदेशमा रहेको कांग्रेसका सम्पर्क समितिहरुको समन्वय गर्छ । 

कृष्णप्रसाद सिटौला समूहको निकट रहेका तर पछिल्लो कालमा देउवाको निकट पुगेका काभ्रेका शिव हुमागाईंलाई देउवाले ट्रेड युनियन विभागको प्रमुख बनाएका छन् । 

विपक्षी रामचन्द्र पौडेल खेमाले विभाग गठन गर्न हुँदैन भन्दै आएको थियो । तर, देउवाले विपक्षी समूहभित्र आफू निकट रहेकाहरुलाई समेत राखेर १३ वटा विभागका प्रमुख घोषणा गरेका हुन् । 

देउवा निकट महेन्द्र यादवलाई यातायात विभाग दिइएको छ । त्यसैगरी रमेश रिजाललाई संघीय मामिला तथा अर्जुन जोशीलाई स्थानीय तह समन्वय विभाग दिइएको छ । विगतमा कोइराला समूहसँग निकट रहेका तर पछि मूलधारबाट बाहिर पारिएका आनन्द ढुंगानालाई सहकारी तथा वित्तीय विभाग दिइएको छ । 

विगतमा अर्थ राज्यमन्त्री रहेका कोइराला पक्षका चिनकाजी श्रेष्ठलाई उद्योग व्यापार विभाग दिइएको छ । देउवा निकट रहेकी सीता गुरुङ आदिवासी जनजाति विभागको प्रमुख पद पाएकी छिन् । 

विपक्षी खेमा छाडेर आफ्नो पक्षमा गत महाधिवेशनमा आएका फरमुलाह मन्सुरलाई मुस्लिम विभाग दिइएको छ । 

त्यसैगरी सभापति देउवाले आमन्त्रित केन्द्रीय सदस्यहरु पनि मनोनीत गरेका छन् । जस अनुसार दाङका कृष्णकिशोर घिमिरे, झापाका गोपालकुमार बस्नेत र सुधीरकुमार शिवाकोटी, धनकुटाका मनोहरनारायण श्रेष्ठ र तनहुँका ध्रुव वाग्लेलाई आमन्त्रित केन्द्रीय सदस्य बनाइएको छ । झापाका गोपाल र सुधीरलाई प्रवक्ता विश्वप्रकाश शर्माको डिजाइनमा आमन्त्रित केन्द्रीय सदस्य बनाइएको भन्दै कांग्रेसमा विरोध सुरु भएको छ । 

तपाईको प्रतिक्रिया