डोटीमा घर भत्किएर एकै परिवारका ४ को मृत्यु, ५ जना घाइते

दिपायल– डोटीमा गएराति घर भत्किएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । आदर्श गाउँपालिका वडा नम्बर १ बाँझककानीमा लोगे लुहारको घर भत्किँदा चार जनाको मृत्यु भएको हो । पाँच जना घाइते भएका छन् ।

राति करिब साढे एक बजे घर भत्किएको स्थानीयले बताएका छन् । मृत्यु हुनेमा लुहारकी श्रीमती २६ वर्षीया विष्णा विक, छोरा ९ वर्षीय पारस विक, ४ वर्षीया छोरी सिरु विक र ९ महिनाकी छोरी कटी विक रहेको प्रहरी अधिकारीले बताएका छन् ।

पुरानो घर भएका कारण भत्केको हुनसक्ने अधिकारीले बताएका छन् । । दुई दिनदेखि लगातार पानी समेत परिरहेको थियो।

घाइतेहरुको प्रहरी तथा स्थानीयले उद्धार गरी प्राथमिक उपचार पश्चात थप उपचारका लागि दिपायल पठाइएका छन्। प्रहरी अधिकारीका अनुसार चार जना गम्भीर घाइते छन् । उनीहरुको टाउको, हातखुट्टा तथा ढाडमा गम्भीर चोट छ । घरमा चौपायहरु समेत च्यापिएका र उनीहरुको उद्धार भइरहेको प्रहरी अधिकारीले बताएका छन् ।

तपाईको प्रतिक्रिया