गणतन्त्रका १२ वर्ष- मुसहर जनता : न भूमि न नागरिकता

नेपाललुक संवादाता । काठमाडौं ६ फागुन, २०७७ ।


नेपालको संविधानले कुनै पनि नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था गरेको छ । संविधानको भाग २ को धारा १० को उपधारा १ मा कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन भन्ने उल्लेख गरेको छ । तर, मोरङ सुनवर्सी नगरपालिकाका मुसहर जनतालाई भने त्यो संविधानको धाराले गिज्याइरहेको छ । मुसहर जनता वर्षौदेखि त्यही बसोवास गर्दै आएका छन् । तर, उनीहरुको नागरिकता वंशजको आधारमा छैन । उनीहरु कतिले नागरिकता त पाएका छन् तर जन्मसिद्ध आधारमा । जन्मसिद्ध आधारमा नागरिकता पाएकाले आफ्ना बच्चाको जन्मदर्ता गराउन पनि सकेका छैनन् । कतिका त आमाबाबुको मृत्यु पछि उनका छोराछोरीले जन्मसिद्धका आधारमा दिइने नागरिकता समेत प्राप्त गर्न सकेका छैनन् । गणतन्त्र आएको १२ वर्ष भयो तर उनीहरुको जीवनमा गणतन्त्रको छाया समेत पर्न सकेको छैन ।
नेपालको संविधानमा शिक्षासम्बन्धी हकलाई मौलिक हकको रुपमा व्यवस्था गरिएको छ । संविधानको भाग ३ को धारा ३१ को उपधारा २ मा लेखिएको छ, प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ । त्यस्तै उपधारा ३ मा आर्थिक रुपले विपन्न नागरिकलाई कानून बमोजिम निशुल्क उच्च शिक्षा पाउने हक हुने छ । तर, जन्मदर्ता नभएकै आधारमा मुसहर बालबालिकाले स्कुल जान पाएका छैनन् । नागरिकतासम्बन्धी विधेयक संसदबाट पारित नभएर कानून बन्न सकेको छैन ।
यस्तै मुसहर जनता अहिले पनि अरुको जमिनमा सानो फुसको छानो हालेर बसेका छन् । उनीहरु नेपाली जनता भएर पनि भूमि र नागरिकता विहीन छन् । संविधानको धारा ३७ को उपधारा १ मा प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुनेछ भन्ने व्यवस्था थ । तर न उनीहरुले नागरिकता पाए न भूमि नै । सुनवर्सी नगरपालिकाका मेयर कालिप्रसाद दासले अबको दुई महिनाभित्र सबैको घरमा फुसको छाना हटाएर टिन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्तै प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले कानूनले तोके बमोजिम नागरिकता प्रदान गर्न कुनै समस्या नरहेको र प्रत्येक नेपाली नागरिकलाई कानून अनुसार नागरिकता दिने कुरा बताउनु भयो । त्यस्तै छुवाछुत जस्ता कुराहरुलाई पूर्ण रुपमा हटाइएको र सबैलाई समान व्यवहार प्रशासनले गरेको कुरा निरौलाले बताउनु भयो ।

कार्यक्रम यहाँबाट हेर्न सक्नु हुन्छ

तपाईको प्रतिक्रिया