एसीसी यू-१९ क्रिकेट: सागरको शानदार प्रदर्शनले हङ्‍कङ पराजित, नेपाललाई उपाधि

नेपालको १९ वर्षमुनिका खेलाडीहरूको क्रिकेट टोलीले अर्को उपाधि थपेको छ।

हङ्‍कङलाई फाइनलमा पराजित गर्दै नेपालले एशियाली यू-१९ पूर्वी क्षेत्रीय प्रतियोगिता २०१९ जितेको हो।

प्रतियोगिताको सफल बलर सागर ढकालले पाँच विकेट लिएपछि पाएको ९६ रनको लक्ष्यनेपालले १६.१ ओभरमा चार विकेटगुमाएर पुरा गरेको छ।

यो विजयसँगै नेपाल अगस्टमा श्रीलंकामा आयोजन हुने र सन् २०२० मा यूएईमा हुने यू-१९ एशिया कपका लागि स्थान पक्का गरेको छ।

एशिया कपमा भारत, पाकिस्तान, अफगानिस्तान, बांग्लादेश र श्रीलंका समावेश हुन्छन्।

आक्रामक ब्याटिङ

सहज लक्ष्य पाएको नेपालले ब्याटिङमा आक्रामक शुरूवात गरेको थियो।

रित गौतमले पहिलो ओभरमै दुई चौका हानेका थिए।

पवन सर्राफ पनि आक्रामक भएपछि खाना समय अगाडिको पाँच ओभरमा नेपालले विकेट नगुमाइ ४४ रन बनाएर लक्ष्यलाई अझ सहज बनाएको थियो।

गौतम १३ रनमा आउट भए भने सर्राफले ३६ बलमा ३९ रन, कप्तान रोहित पौडेलले १२ र खड्क बोहोराले आठ रन बनाए।

भीम सार्की आठ रनमा र हरि चौहान शून्यमा नटआउट रहँदै छ विकेटको विजय दिलाए।

सागरको शानदार प्रदर्शन

टस जितेर फिल्डिङ रोजेको नेपालको बलिङ सागर ढकालको स्पीन बलिङ वरिपरि घुम्यो।

प्रतियोगितामा प्रभावशाली बनेका ढकालले प्रारम्भिक ब्याट्सम्यानद्धय सहित पाँच खेलाडीलाई पवेलियनको बाटो देखाएपछि हङ्‍कङ ४३.१ ओभरमा ९५ रनमै अलआउट हुन पुगेको थियो।

बलरहरु हाबी भएपछि शुरूको तीन ओ‌भरमा हङ्‍कङका खेलाडीहरुले कुनै रन बनाउन सकेका थिएनन्।

ढकालले पहिलो ओभरको चौथो बलबाट विकेट लिन थालेका थिए। उनले नस्रुल्ला रानालाई खाता खोल्न नदिई सर्राफबाट क्याच आउट गराए।

सर्वाधिक सफल बलर

दोस्रो ओभरमा राहुल शर्मालाई आउट गरेपछि ढकालले १९ रन बनाएर खेलमा जम्ने प्रयास थालेका कल्हन मार्कलाई एलबीडब्लुको धरापमा पारेका थिए।

आरुस भगवत र मेहरुनलाई आउट गरेपछि ढकालको पाँच विकेटको सफलता पूरा भएको थियो।

ढकालले प्रतियोगितामा चार खेलमा १५ विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडी बनेका छन्।

ऐरीको तीन विकेट

तिलक राजभण्डारीले हङ्‍कङको तर्फबाट सबैभन्दा बढी १९ रन बनाएका अदित गोरावारालाई रोहित पौडेलको हातबाट क्याच आउट गराएका थिए।

कुल २२० रन बनाएका गोरावारा प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी हुन्। कमलसिंह ऐरीले तीन विकेट लिए। उनले पुछारका खेलाडीहरुलाई आफ्नो शिकार बनाएका हुन्।



एशिया कपको छनौट

यो जितसँगै नेपाल यसै वर्ष अगस्ट २८ देखि सेप्टेम्बर ८ सम्म श्रीलंकामा हुने यू-१९ एशिया कपका लागि छनौट भएको छ।

सो प्रतियोगितामा भारत, पाकिस्तान, अफगानिस्तान, बांग्लादेश र श्रीलंकासहित यूएई र कुवेत समावेश हुनेछन्।

साथै यो प्रतियोगिताको फाइनलमा पुगेका दुई टोली नेपाल र हङ्‍कङ सन् २०२० को नोभेम्बरमा यूएईमा हुने यू-१९ एशिया कपका लागि छनौट भएका छन्।

सो प्रतियोगितामा भारत, पाकिस्तान, अफगानिस्तान, बांग्लादेश, श्रीलंका, नेपाल र हङ्‍कङसहित पश्चिम क्षेत्रीय प्रतियोगिताको विजयी टोली समावेश हुनेछ। बीबीसी




तपाईको प्रतिक्रिया